काठमाडौं, ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्या गरेका छन्।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्कुटीमा सवार ईश्वरीको टाउकोमा रड प्रहार गरी हत्या भएको हो। यो घटना हिजो राति १०ः१० बजे भएको हो।शुक्रवार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा घटना भएको हो। उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा ईश्वरी निधन भएको हो।
‘नेपाली ब्रो’ भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन्। ईश्वरी सैनिक सेवामा थिइन्। उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी थियो। शुक्रवार बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्नासाथ रडले हानेर घाइते बनाएका थिए।
उनलाई प्रत्यक्षदर्शीले तत्कालै स्थानीय तारकेश्वर अस्पतालमा लगेका थिए। अत्यधिक रक्तस्राव भएपछि थप उपचारका निम्ति शिक्षण अस्पताल लगिएको हो। त्यहाँको इमर्जेन्सी वार्डमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्।
कुमारलाई शुक्रवार राति बालाजुबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए। उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन्। कुमार र ईश्वरी ४२ वर्षका थिए।