लमजुङको दोर्दीमा नेपालमै पहिलो समलिंगी विवाह दर्ता

HTV Khabar १४ मंगशिर २०८०, बिहीबार ०९:४४ मा प्रकाशित
काठमाडौं, लमजुङको दोर्दी गाँउपालिकाले एक समलिंगी जोडीको विवाह दर्ता गरेको छ। सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो।


लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए।


समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरे। उनले भने, ‘आजको दिन नेपालमा समलिंगी अधिकारका लागि कोशेढुंगा हो। यो नेपालमा मात्रै नभएर दक्षिण एसियामा नै पहिलो घटना हो।’


गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए।विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो।