यसरी सकियो बूढानीलकण्ठ नगरपालिकाको रोजगार मेला

सबिन पन्त 'पृथक' १३ माघ २०८०, शनिबार ०६:४८ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको दुईदिने "तेस्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला" सम्पन्न भएको छ।


बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग एवं समन्वयमा भएको दुईदिने मेलामा १२ हजार जनाले उपस्थिति दर्ता गराएको जानकारी आयोजकले दिएका छन्।


नगर कार्यपालिकाको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन भएको मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टलहरू राखिएका थिए जसमा १९ वटा उद्योग तथा कम्पनीहरूले ३० वटा रोजगारीका अवसरहरू प्रदान गरेका थिए।


आयोजकका अनुसार ७५० जनाको व्यक्तिगत विवरण (बायोडाटा) सङ्कलन भएको छ भने ११५ जनाले रोजगार सम्बन्धी सिप सिक्नका लागि फारम भरेका छन्। मेलामा ४,८७६ जनाले वृत्ति सेवा पाएका थिए भने मेलामा सञ्चालन गरिएका व्यवसायहरूले ५६,६०० रुपैया बराबरको सामानहरू बिक्री गरेका थिए।

मेलाको दोस्रो दिन  प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, दिगो सम्मानित रोजगारीका लागि सीप परियोजनाका रविन्द्र सिंह तथा सम्पूर्ण वडाका अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यलगायत नगरपालिकाको महाशाखा/शाखा प्रमुख, विभिन्न विद्यालयहरूका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो।


विगत लामो समयदेखि सामुदायिक विद्यालयहरूमा वृत्ति कक्षा र तालिम सञ्चालन गर्दै आएका शिक्षक तथा शिक्षिकाहरूलाई नगर उपप्रमुख अनिता लामाले सम्मानपत्र समेत हस्तान्तरण गर्नुका साथै उक्त मेलामा स्टल सञ्चालन गर्ने सम्पूर्ण स्टल  सञ्चालकहरूलाई समेत उपस्थित अतिथिहरू द्वारा सम्मान प्रदान गरिएको थियो।