इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन

HTV Khabar ७ जेठ २०८१, सोमबार ०१:५७ मा प्रकाशित

काठमाडौं, इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ।

आईतवार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो। समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ।

उद्धारकर्मी सोमवार बिहान घटनास्थल पुगेका थिए। दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो।

टर्किले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो। टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो। टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको थियो।

दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए।

राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए। बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए। इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको थियो।दुर्घटना भएको ठाउँमा भिजिबिलिटी निकै कम छ रहेको बीबीसीले लेखेको छ।

बाक्लो कुहिरोका कारण भिजिबिलिटी कमजोर हुँदा उद्धार प्रभावित भएको थियो।उद्धारमा विभिन्न देशले रुचि देखाएका थिए। रुसी सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारका लागि ४७ विशेषज्ञको टोली र एक हेलिकप्टर पठाइएको थियो।

 युएईले पनि सहयोग गरेको छ। केही इरानीहरूले सामाजिक सञ्जालमा काफिलाका दुई हेलिकप्टर सकुशल पुग्ने र राईसीको हेलिकप्टर कसरी दुर्घटना भयो भनेर प्रश्न उठाइरहेका छन्।