काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मङ्गलवार काठमाडौं महानगरपालिका २२ स्थित गणबहालबाट ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
चितवनको इच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्दै आएका २३ वर्षीय टेक बहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौँकै शंकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
बागमती प्रदेश ०२-०३१ प ३९२९ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका १६ म्हेपीस्थित पार्किङबाट गत कार्तिक २४ गते हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३१ प ९२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई मङ्गलवार नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ।