काठमाडौं, जुवातास खेल्दाखोल्दै काठमाडौं र ललितपुरबाट १४ जना पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालयकाअनुसार ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जनाइएको छ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।