एआईजी ज्ञवालीको जन्ममिति छानबिन गर्न निर्देशन

HTV Khabar २ मंगशिर २०८०, शनिबार ११:२० मा प्रकाशित
काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।


जन्ममिति ढाँटेर प्रहरी सेवा प्रवेश गरेको भन्दै उजुरी परेपछि संसद्को राज्य व्यवस्था समितिले शुक्रवार गृह मन्त्रालयलाई पत्र लेखी एआईजी ज्ञवालीको कागजातमाथि छानबिन गर्न दिर्नेशन दिएको हो। ज्ञवाली २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन्। गृह स्रोतका अनुसार ज्ञवालीमाथि छानबिन गर्न पठाइएको पत्रमा समिति सभापति रामहरि खतिवडाले तोक लगाएका छन्।


नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्ने विषयमा ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। तर, प्रारम्भिक छानबिनपछि अख्तियारले प्रमाण खुलेमा कानुनबमोजिम हुने गरी भन्दै वैशाख १४ मा उजुरी तामेलीमा पठाएको थियो।नागरिकतामा ज्ञवालीको उमेर २०२४ चैत २१ र प्रहरीको सिटरोलमा २०२५ भदौ २६ उल्लेख छ। तर, नागरिकतामा उल्लेख उमेर नै कायम हुने गरी अख्तियारले उजुरी तामेलीमा पठाएको थियो।


त्यसअघि गृहले पनि उमेर विवाद नरहेको व्यहोरासहित राय दिएको थियो। त्यसपछि एआईजी ज्ञवालीको उमेर विवादको विषय सतहमा आएको थिएन। तर, संसदीय समितिले एकाएक फेरि छानबिनका लागि गृहलाई निर्देशन दिएको हो। ज्ञवाली हाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख हुन्।


त्यसअघि उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख रहेकै बेला नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने अपराधमा संलग्न राजनीतिक, प्रशासनिक र बिचौलियाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र काङ्ग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका शक्तिशाली व्यक्तिसमेत पुर्पक्षका लागि जेल गएका थिए।