इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

HTV Khabar १८ वैशाख २०८१, मङ्गलबार ०८:३९ मा प्रकाशित

इलाम, उपनिर्वाचनमा इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।

एमालेका नेम्वाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मतमै चित्त बुझाउनु पर्‍यो। १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाए।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम- २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित  पृथ्वी बहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए। निर्वाचन आयोगले यी दुई स्थानमा शनिवार उपनिर्वाचन गराएको हो। इलाम-२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुन्।

प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेम्वाङलाई निर्वाचन आयोगले ११ बजे प्रमाणपत्र प्रदान गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

बझाङ प्रदेशसभा-१ बाट पनि एमालेकै उम्मेद्वार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। उनी  नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।