प्रधानमन्त्री कार्कीलाई नारायण काजी श्रेष्ठको यस्तो सुझाव

HTV Khabar २९ भाद्र २०८२, सोमबार १०:५० मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीलाई नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सुझाव दिएका छन्। श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेरनै सुझाव दिन चाहेको पनि सामाजिक सञ्जाल मार्फत बताएका छन्। 

सम्माननीय प्रधानमन्त्रीज्यू ,
तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई ,शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईंको फोन सम्पर्क हुन सकेन। तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन। मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको  माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु।

एक, तपाईंले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त , स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई  मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्।

दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस्।

तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरुमाथी कारवाही गर्नुस।

चार, ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस्।

पाँच, भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारवाही हरुलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस्।

छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसदको भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसदको आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस्।

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरु सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौं।