बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

HTV Khabar २५ असार २०८२, मङ्गलबार ०७:३९ मा प्रकाशित

काठमाडौं,  बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन्।

हस्ताक्षर किर्ते गरेको आरोपमा मुद्दा दर्तापछि फरार रहेका उनलाई सोमवार जनकपुरबाटै पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए। परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी कर्मचारी बर्खास्त गरिएको उजुरीपछि साहविरुद्ध अनुसन्धान सुरु गरिएको थियो।

साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पासवानको नक्कली हस्ताक्षरसहितको पत्र तयार पारी उच्च अदालतमा पेश गरेका थिए।

तर, निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा किर्ते तथा जालसाजीको उजुरी दिएपछि विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा किर्ते गरेको पुष्टि भएको थियो।

प्रहरीले मुद्दा दर्ता गरेपछि उनी फरार रहेका थिए। साहलाई सोमबार नै जिल्ला अदालत धनुषामा पेश गरेर अनुसन्धानका लागि तीन दिनको म्याद लिएको डीएसपी सिंहले बताए।नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा परिषद्का अध्यक्ष नियुक्त भएका साह केही समयअघि पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए।