काठमाडौं, बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ। रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनवाइ भएको थियो। सुनुवाइ सकिएकाले आज फैसला आउने सर्वोच्च प्रशासनले जनाएको छ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए। लगत्तै ढकाल कारागारबाट मुक्त भएका थिए।
तर ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै गत १७ असोजदेखि माइतीघरमा अनशन सुरु गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन्।
दशैं बिदामा अनसन स्थगित गरेकी उनले ११ कात्तिकदेखि फेरि रिले अनसन जारी राखेकी छन्। १३ कात्तिकमा रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने क्रममा बेहोस भएपछि उनलाई बीर अस्पतालमा भर्ना गरिएको थियो।