विराटनगर, मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ। एक घाइते भएका छन्। मृतक मध्ये दुई जना एकै परिवारका हुन्।
शुक्रवार विहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो। लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो।
ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन्। दुर्घटनामा परी ज्योती गम्भीर घाइते छन्। ढुंगाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ। शुक्रवार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ (ढुंगा) बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो।
पल्टिएको लहरीमा लोड गरिएको ढुंगाले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए। मृतकको शव निकाल्न प्रहरीलाई करिब ४ घण्टा लागेको थियो।