काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल युवाहरू माझ साथमा मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालासहित लुनार स्वास्थ्य संवाद-२०२५ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं.-४ का अध्यक्ष श्रीराम केसीको व्यवस्थापनमा आज बूढानीलकण्ठ स्कुलको सभाकक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यता र मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको विशिष्ट आतिथ्यतामा स्वास्थ्य सम्बन्धि युवा लक्षित संवाद कार्यक्रम सम्पन्न भएको हो।
योग्य र दक्ष युवा जनशक्ति विदेश पलायन हुने समस्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ, उनीहरूलाई स्वदेशमै रहेर मातृभूमि र नेपाली नागरिकको सेवामा लाग्न कसरी आकर्षण बढाउन सकिन्छ भन्ने उदेश्य लिएर लुनार स्वास्थ्य संवाद - २०२५ आयोजना गरिएको अध्यक्ष केसीले एचटिभी खबरलाई बताए।
कार्यक्रममा स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा अध्ययनरत युवाहरूले स्वास्थ्य मन्त्री पौडेल र डा.कोइरालालाई स्वास्थ्य क्षेत्र लगायत विविध क्षेत्रका यावत समस्याहरुको बारेमा प्रश्न गर्दै जिज्ञासा राखेका थिए। ती देखिएका तड्कारो समस्याको समाधान गर्न सरकारले के कस्ता कार्ययोजना ल्याएको छ अथवा ल्याउन सक्छ भनेर मन्त्री पौडेललाई राखेको जिज्ञासामा उनले जवाफ दिएका थिए।
युवाहरूको प्रश्नको जवाफ दिदै स्वास्थ्य मन्त्री पौडेलले भने "स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकोले प्रेशरमा काम गराउन सकिदैन, स्वदेशमा भन्दा विदेशमा डाक्टरलगायतका प्राविधिकहरुलाई उच्च सेवा सुविधा प्राप्त हुन्छ, नेपालमा त्यहाँको जस्तो सुविधा दिन नसकिएको कारण पनि दक्ष जनशक्तिको आकर्षण विकसित र सम्पन्न देशमा हुनु स्वभाविक हो। त्यसैले नेपालमा पनि त्यस्ता सुविधा प्रदान गर्ने सोच लिइएको छ।"
अस्पताल खोलेर स्वास्थ्य उपचार गर्नु मात्रै उपयुक्त नभएको महसुस स्वास्थ्य सम्बन्धि सचेत र सचेतना बढाउन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कक्षा ७ देखि माध्यमिक तहसम्म अब स्वास्थ्य शिक्षालाई अनिवार्य गराउन लागिएको पनि मन्त्री पौडेलले बताए। स्वास्थ्य विषयमा स्नातक गर्ने विद्यार्थीलाई जनस्वास्थ्य अधिकृत हुने अवसर उपलब्ध हुने उनले बताए।
अहिले युवाहरूमा देखिएको मुटुरोगको कारण र यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने युवाहरूको प्रश्नमा "युवाहरु विभिन्न प्रकारका दुर्व्यसनीको शिकार भएको, किशोरावस्था देखि नै धूम्रपान गर्ने भएकोले युवाहरूलाई मुटुरोग देखिएको हो। त्यसलाई न्यूनीकरण गर्न ठूलो काम केही गर्नुनपर्ने मात्रै नियमित व्यायाम गर्ने र खानपिनमा जीवनशैली सुधार गर्नुपर्छ, तनावमुक्त हुनुपर्छ समय समयमा रक्तचाप जाँच गर्नुपर्छ। समस्या देखिएमा तुरुन्तै सम्बन्धित चिकित्सकसंग परामर्श लिनुपर्छ।
मुटुरोगबाट बच्न र हृदयघातबाट जोगिने उपाय भनेको नै आफ्नो स्वास्थप्रति आफै सचेत हुनुपर्ने डा.कोइरालाले जानकारी दिए। एक प्रतिशत शिशुको जन्ममा मुटुरोग जन्मजात समस्या देखिने तर धेरै जसो मुटुरोग आफ्नै जीवनशैली र आहारको कारण उत्पन्न हुनेपनि उनले प्रष्ट्याए। कतिपय घाँटीमा देखिने रोगहरुको कारण मुटुसम्म पुगेर त्यसले भल्भलाई बिगार्ने हुनाले त्यसको रोकथामको लागि सरकारले प्रत्येक स्वास्थ्य केन्द्रमा पेन्सिलिन नि:शुक्ल उपलब्ध गराउन पर्ने सुझाव दिए।
सक्षा शाहले सञ्चालन गरेको ऐतिहासिक कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं.-५ का अध्यक्ष कृष्ण शाह, वडा नं.-४ का सदस्य कार्की, वडा नं.- २ का सदस्य विनोद लामिछाने, प्याब्सन बूढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ, बूढानीलकण्ठ स्कुलका प्रधानाध्यापक केशरबहादुर खुलाल, मदर्स क्यासल स्कुलकि प्रधानाध्यापक भावना सुवेदी केसीलगायत विभिन्न क्षेत्रमा अध्ययनरत युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो।