बूढानीलकण्ठका स्थायी बासिन्दाले रेडक्रसबाट नि:शुल्क रगत पाउने

सबिन पन्त 'पृथक' ५ पौष २०८१, शुक्रबार १०:२५ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाका स्थायी बासिन्दा तथा नगरपालिकाका कर्मचारी र परिवारलाई नेपाल रेडक्रसले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने रगत नि:शुल्क रूपमा उपलब्ध गराउने भएको छ। 

बूढानीलकण्ठ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बीच यस नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको नगर जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहालले एचटिभी खबरलाई बताएका छन्।

नि:शुल्क रगत प्राप्त गर्न बूढानीलकण्ठको स्थायी वासिन्दा भएको अथवा कर्मचारी भएको जुनसुकै आधिकारिक प्रमाणको प्रतिलिपीमा स्वयंले प्रमाणीकरण गरेर पेश गर्नुपर्ने गरि सम्झौता गरिएको दाहालले बताए। 

कहिलेकाही आकस्मिक रूपमा प्रमाणपत्र साथमा नभएको अवस्थामा रक्त सेवा लिनुपरे त्यसको शुक्ल तिर्नुपर्ने छ। तर त्यसरी तिरेको शुल्क नगरपालिकाको सिफारिस वा प्रमाण पेश गरेपछि फिर्ता हुनेपनि सम्झौतामा उल्लेख गरिएको छ। 

यसरी नि:शुल्क रगत उपलब्ध गराए बापत बूढानीलकण्ठ नगरपालिकाले केन्द्रिय रक्त सञ्चार सेवामा रक्त संकलनको लागि सहयोग पुर्‍याउनु पर्ने कुरा सम्झौतामा उल्लेख गरिएको बताएपनि नगरपालिकाले थप अन्य सुविधा अथवा रकम के कति रेडक्रसलाई दिनुपर्ने हो ? सो कुरा भने दाहालले खुलाएनन्।

बूढानीलकण्ठ स्वास्थ्य चौकीमा नि:शुल्क आँखा परीक्षण हुने
प्रत्येक हप्ता मङ्गलवार बूढानीलकण्ठ - ३ चपली घुम्तिस्थित स्वास्थ्य चौकीमा ह्याम्स हस्पिटलको प्राविधिक सहयोगमा नि:शुल्क आँखा जाँच हुनेभएको छ। 

प्रत्येक हप्ता मङ्गलवार स्वास्थ्य चौकीको भवनमा ह्याम्स हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिने नि:शुल्क आँखा जाँच सिविरको लागि आवश्यक सामाग्री नगरपालिकाले उपलब्ध गराउने गरि ह्याम्स हस्पिटलसंग सम्झौता गरिएको पनि जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहालले बताएका छन्।