काठमाडौं, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। परीक्षा नियन्त्रक डक्टर गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको थियो। तर, गत चैत २० गतेदेखि बैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौंमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए। झापामा १७ हजार २८ जना विद्यार्थी सहभागी थिए। जसमा छात्रातर्फ ८ हजार ७८४ तथा छात्रतर्फ ८ हजार २४४ परीक्षार्थी थिए।
झापामा नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी थिए। ग्रेडवृद्धितर्फ ९९१ छात्रा तथा ८३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी थिए।