काठमाडौं, मनास्लु वर्ल्ड कलेजले समाज र राष्ट्रप्रति समर्पित भइ योगदान पुर्याउने पाँचजना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनास्लु शैक्षिकसेवा सम्मानबाट राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेश पमुख एवम् साहित्यकार जयन्ती सत्याल अधिकारी ‘स्पन्दन’ लाई सम्मान गरिएको छ।
त्यस्तै, मनास्लु समाजसेवी सम्मानबाट नेपाल लायन्स क्लबका धरोहर समाजसेवामा आफ्नो जीवन उत्सर्ग गर्ने समाजसेवाका पर्याय लायन्स क्लव इन्टरनेशनलका निर्देशक बालकृष्ण बुर्लाकोटीलाई सम्मान गरिएको छ।
त्यस्तै मनास्लु सञ्चारकर्मी सम्मानबाट जगदीश खरेल सम्मानित भएका छन्। त्यस्तै, मनास्लु खेलाडी सम्मान यरिका गुरुङ र मनास्लु संगीतकर्मी सम्मानबाट कुन्ती मोक्तान सम्मानित भएका छन्।
मनास्लु सञ्चारकर्मी सम्मानबाट सम्मानित भएका जगदीश खरेलले कलेजले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै मनास्लु वर्ल्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै प्रशंसा गरेका थिए।
त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी अध्यक्ष जयन्ती सत्यालले आफूलाई प्रेरणापुञ्जको रुपमा कलेजले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरिन्। ‘यो प्रेरणापुञ्ज मलाई भारी नपरोस्,’ उनले भनिन्, ‘यसले मलाई असल व्यवहार र कर्ममा लाग्न प्रेरणा भरिरहोस् भन्ने कामना गर्दछु।’
प्रमुख अतिथि किराँतीले विद्यार्थीलाई उदाउँदै गरेको सुर्यसँग तुलना गर्दै भने, ‘अब तपाईंहरुले नै यो देशमा प्रकाश छर्नुछ, न्यानो दिनुछ। वास्तवमा तपाईंहरु यो देशको कालिगढ हो।’
कार्यक्रमका सभापति एवम् मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा आयोजना हुने कार्यक्रममा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरे।
कार्यक्रममा कलेजका फाइनान्स डिरेक्टर कुमार मोक्तान, स्कुल एकेडेमिक डिरेक्टर शशिकला खड्का, बोर्ड सदस्य राजकुमार लामिछाने, कृष्ण श्रेष्ठ, सहदेव तिमल्सिना, जयराज श्रेष्ठ, सोभित केसी, सुनिल परियार, एकेडेमिक डिरेक्टर शशी केसी कलेजका सहायक प्रधानाध्यापक गोपाल श्रेष्ठ, कोअर्डिनेटर कृष्ण आले, सन्तोष लामिछाने लगायतको उपस्थिति रहेको थियो।