काठमाडौं, एसीसी महिला एसिया कपमा पाकिस्तानले यूएईमाथि १० विकेटको जित हात पारेको छ। पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो।
यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रनको मध्यम योगफल बनायो। कप्तान इसा ओजाले १६, थ्रिथा सतिसले सर्वाधिक ४२ र खुशी शर्माले १२ रन जोडे। पाकिस्तानको कसिलो बलिङ सामु अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।
सादिया इक्बाल, नास्रा सान्धु र तुबा हसनले दुई–दुई विकेट लिए। जवाफमा पाकिस्तानले ३५ बल बाँकी रहँदा विना क्षति लक्ष्य पूरा गर्यो। गुल फिरोजाले ६२ र मुनिबा अलीले ३७ रनको योगदान गरे। पाकिस्तानको जारी प्रतियोगितामा यो लगातार दोस्रो जित हो।
पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले यसअघि नेपाललाई सहजै ९ विकेटले हराएको थियो। तीन खेलबाट चार अंक जोडेको पाकिस्तान सेमिफाइनल पुगेको छ।