सशस्त्रको गोलीबाट चालकको मृत्यु सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

HTV Khabar १६ पौष २०८२, बिहीबार ११:५९ मा प्रकाशित

काठमाडौं, सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन्।

विहीवार बिहानको राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो।

उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए। घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो। उनलाई दुई राउण्ड गोली लागेको छ। साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार स्थानीयले गरेको प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन्। मोटरसाइकल मात्रै आवात–जावत भइरहेको छ। ठूला गाडीहरु रोकिएका छन्।

स्थानीयले शव नै सडकमा राखेर प्रदर्शन गरिरहेको उनले बताए। घटनापछि प्रहरीले बिहीबार बिहान स्थानीयसँग वार्ता गरेको थियो। तर, वार्तामा सहमति भएन। स्थानीयले दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन्।