फ्रि भिसा फ्रि टिकट ४ प्रतिशत मात्र कार्यान्वयन, श्रमिकसँग उठाइन्छ वार्षिक १ खर्बभन्दा बढी

HTV Khabar ११ असार २०८१, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले म्यानपावर कम्पनीले वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी रकम बैंकिङ प्रणालीबाहिर रहेर उठाइरहेको बताएका छन्।

सांसदहरुले बजेटमाथि उठाएका प्रश्नमा आईतवार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा उनले फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको भन्दै हरेक वर्ष १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा नआइ बजारमा कारोबार भइरहेको बताए।

उनले सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय गरेपनि वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत श्रमिकले म्यानपावर कम्पनीले मागे अनुसारको पैसा बैंकिङ प्रणालीबाहिरबाट तिरिरहेको बताए।

‘मैले बजारमा सुनेको फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको छ। डाटा अध्ययन गर्दा हरेक वर्ष १ खर्ब ३ अर्ब बैंकिङ प्रणालीमा नआइ बजारमा चलेको छ। यसको अन्त्य गर्नै पर्छ,’ उनले भने, ‘फ्रि भिसा फ्रि टिकट ४ प्रतिशत मात्र कार्यान्वयन भएको भनेर हामीले डाटा प्राप्त गरेका छौं। यसलाई संवेदनशील रुपमा लिएको छु।

९६ प्रतिशत ठगिएको विषयलाई टुलुटुलु हेरेर बस्न मिल्दैन। यसमा हामीले काम गरिरहेका छौं।’मन्त्री अर्यालले मन्त्रालय वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि ठगी नहोस् भन्ने प्रणाली बनाउनतिर लागिरहेको बताए।

सरकारले ६ वटा खाडी मुलुक र मलेसियामा रोजगारीका लागि जाने श्रमिकले भिसा तथा टिकटको शुल्क तिर्नु नपर्ने र रोजगारदाताले नै बेहोर्ने निर्णय २०७२ असार तेस्रो साता गरेको थियो।