काठमाडौं, प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि विहिवार बेइजिङतर्फ प्रस्थान गरेका छन्।
बेइजिङतर्फ प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका थिए। प्रधान सेनापतिलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ।
चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनेछन्। उनको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग शिष्टाचार भेटघाट हुनेछ।
चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन्। उनी चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि सरिक हुनेछन्।
प्रधान सेनापति संघाईको सियान सिटी तथा ग्वानझाओमा रहेको चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाई तथा शिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् । उनी कार्तिक १६ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको छ। प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नेछन्।