कोहलपुरमा शवदाह गृह निर्माण हुने, नगर प्रमुख आचार्यले गरे शिलन्यास

सबिन पन्त 'पृथक' २० अशोज २०८१, आइतबार ०९:०९ मा प्रकाशित

काठमाडौं, कोहलपुर नगरपालिकामा शवदाह गृह निर्माण हुन लागेको छ। लामो समयदेखि नगरबासीको साँझा एजेन्डाको रुपमा रहेको शवदाह गृहको निर्माण कार्य सुरु भएको हो।

कोहलपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको संगम स्थलपारी आधुनिक प्रविधियुक्त कोहलपुर शवदाह गृह निर्माणको लागि नगर प्रमुख पूर्ण आचार्यले शिलन्यास गरेका हुन्।

शवदाह गृह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्म शव लगेर झन्झटिलो, कष्टकर र खर्चिलो रूपमा शवदाह गर्नुपर्ने बाध्यताको अन्त्य हुने नगर प्रमुख आचार्यले एचटिभी खबरलाई बताए।प्रारम्भिक रुपमा करिब १ करोड २५ लाख बढी बजेटबाट शवदाह गृह निर्माण सम्पन्न हुने उनले बताए। 

समाजसेवी व्यक्तित्व चक्र अधिकारीको संयोजनमा सर्वपक्षीय रुपमा कोहलपुर शवदाह गृह निर्माण समिति गठन भएको पनि प्रमुख आचार्यले बताए। शवदाह गृह निर्माणको लागि आवश्यक रकम विभिन्न सामाजिक तथा वित्तिय संस्थाहरुबाट सामाजिक उत्तरदायित्व बहन गर्न लगाइ जुटाउने प्रक्रियामा रहेको उनले बताए।  

“एभरेष्ट बैंकद्धारा ५० लाख”
शवदाह गृह निर्माण सतितिका संयोजक चक्र अधिकारीको विशेष पहलमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको र चाँडै निर्माण समितिको बैंक खातामा रकम उपलब्ध हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ।

शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारी पहलमा अन्य वित्तीय संस्थाहरुमा समेत समन्वय भइरहेको पनि आचार्यले जानकारी दिएका छन्। साथै शवदाह गृहमा सहयोग गर्न चाहने महानुभावहरुले निर्माण समितिका संयोजक चक्र अधिकारीलाई मोबाईल नं. ९८५८०२०८८४ मा सम्पर्क गर्न अनुरोध गरेका छन्। 

नगर प्रमुख आचार्यले भने "अत्यावश्यक सामाजिक तथा पुण्य कामको शुभारम्भको समयसम्ममा समन्वय गर्नुहुने सबै राजनीतिक दल, कोहलपुर नगरका धार्मिक तथा सामाजिक अगुवा व्यक्तित्वहरु, निर्माण समितिका संयोजक लगायत टिमका सबै साथिहरु, एभरेस्ट बैंक परिवार तथा अन्य सम्पूर्णहरु प्रति आभार व्यक्त गर्दछु।"