काठमाडौं, नेपाल सरकारले उखुको समर्थन मूल्य तोकेको छ। बुधवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य सरकारले दिने अनुदानसहित प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ दिनु पर्ने गरी उखुको मूल्य तोक्ने निर्णय भएको जानकारी दिइन्। उनकाअनुसार सरकारले अनुदान स्वरुप उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ दिने निर्णय गरेको छ।
‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिद मूल्य जुन छ त्यसलाई उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ दिनु पर्ने निर्णय भयो र उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय भएको छ,’ उनले भनिन्, ‘किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ प्राप्त गर्ने गरी उखुको मूल्य निर्धारणको निर्णय भएको छ।’
मन्त्री शर्माले उखुको मूल्य तोक्न ढिला भइरहेको अवस्थामा आजको मन्त्रिपरिषदले मूल्य तोक्ने एक मात्र निर्णय गरेको जानकारी दिँदै सरकारको कामलाई गति दिने विषयमासमेत छलफल भएको जानकारी दिइन्।
‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो। त्यसकारण आजको क्याबिनेट बैठकमा यो एउटा निर्णय गरियो । र बैठकमा सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा छलफल भए पनि अन्य निर्णय गरिएन।’ उनले भनिन् ।