काठमाडौं, नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ। मंगलवार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको छ।
यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए। बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन्।
मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको १५ साउनको बैठकको निर्णयअनुसार थप दुई जना सचिवको सरुवा गरेको छ भने कानुन समूहका दुई सहसचिव सचिवको पदस्थापनको निर्णय पनि गरेको छ।
सहसचिव आलोकचन्द्र श्रेष्ठलाई सचिवमा बढुवा गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ। सहसचिव परस्वर ढुंगाना नेपाल बढुवा भएर कानुन आयोगको सचिव पदस्थापन भएका छन्।
आयोगका सिफारिसमा कानुन सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको छ।
न्याय सेवा अन्तर्गतका कानुन समूहका सचिवहरुलाई न्याय सेवा आयोगको निर्णयबाट सरुवा तथा बढुवा सिफारिस गरिन्छ। कानुन, न्याय तथा संदीय मामिलामन्त्रीले मनित्रपरिषद बैठकमा प्रस्ताव लगेर निर्णय भएपछि निर्णय कार्यान्वयन हुन्छ।