काठमाडौं, काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्ने आग्रह गरेको छ।
ऋणीले समयमा नै ऋण चुक्ता नगरेको खण्डमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था रहेको स्मरण गराएको छ।
प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गर्न सहकारी विभागले सबैलाई अपिल गरेको छ।
अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराएको छ। पछिल्लो समय, सहकारी संस्थाहरूमा आएका विविध समस्याहरूले सहकारीहरूको व्यवस्थापनमा असहज परिस्थिति सिर्जना भएको स्मरण गराएको छ।
ऋणी सदस्यहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो आइरहेको जनाएको छ।
केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था रहेको भन्दै ऋणीलाई समयमा नै ऋण तिर्न आग्रह गरेको छ।