यस वर्षको दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

HTV Khabar ३० अशोज २०८१, बुधवार ०९:३२ मा प्रकाशित

काठमाडौं, आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको दशैंकाे टीका र जमरा लगाउने अन्तिम दिन हो।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते विहिवार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा.देवमणि भट्टराईले जानकारी दिएका छन्।

यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो।

मान्यजन टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरघरमा जाने गर्छन्। आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ। निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजन कहाँ टीका लगाउन गइरहेका देखिन्छन्।

दशैंकाे सार्वजनिक बिदा सोमवार सकिएर मंगलवारदेखि सरकारी कार्यालय खुलेका छन्। टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ।