पाँचौँ फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिप फागुन ६ देखि हुने

सबिन पन्त 'पृथक' २३ माघ २०८०, मङ्गलबार ०८:०९ मा प्रकाशित

काठमाडौं, नेपाल रग्बी संघको आयोजनामा पाँचौँ फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिप फागुन ६ गतेदेखि काठमाडौंमा हुने भएको छ। 


रग्वी संघले मङ्गलवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्रकार सम्मेलन गरि लिग फरम्याटको फिफ्टन्स रग्बी लिग फागुनको ६ देखि १२ गतेसम्म हुन लागेको संघका कोषाध्यक्ष जे.बि.दीपक अधिकारीले जानकारी दिएका हुन्।


उक्त प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। तीन विभागीय टोली नेपाल आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबका साथै गोर्खाली रग्बी क्लबले लिगमा प्रतिस्पर्धा गर्ने संघले जानकारी दिएको छ। गत संस्करण खेलका कालभैरव रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले भने यस पटक सहभागिता नजनाउने भएका छन्।


संघका अध्यक्ष दीपक देवकोटाले रग्बी सेभेन्सभन्दा फिफ्टिन ‘ए’ साइड केही कठिन र रोमाञ्चक हुने भएकाले प्रतियोगितामा सहभागिताका लागि मापदण्ड तय गरिएको र सो मापदण्डअनुरूप नभएका क्लबको सहभागिता अस्वीकृत गरिएको बताए।
फिफ्टिनको लिग खेल्न २० वर्षभन्दामुनिको खेलाडी रोक लगाइएको अध्यक्ष देवकोटाले बताए।


हरेक क्लबले न्यूनतम २१ खेलाडी र अधिकतम् २६ खेलाडी समावेश गराउने मापदण्ड तय गरिएको संघले जनाएको छ। एउटा टोलीमा पाँच जना विदेश खेलाडी राख्न पाउने प्रावधान रहेको र गोर्खाली क्लबले पाँच खेलाडीको नाम दर्ता गराएको संघका महासचिव गोविन्द घिमिरेले बताए।


संघले हरेक क्लबलाई एक लाख ६० हजार रुपैयाँ प्रतियोगिताको तयारीका लागि बजेट उपलब्ध गराएको छ।


प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र पदक पाउनेछन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताका लागि तय गरेको खेलकुद बीमा यस प्रतियोगितामा पनि समावेश गरिएको संघले जनाएको छ।