अझै फर्केनन् भीमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

HTV Khabar १२ वैशाख २०८३, आइतबार ०९:०१ मा प्रकाशित

काठमाडौं,  मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४ सय ४० कैदीबन्दीमध्ये शनिबारसम्म २ सय ९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन्।

कारागारका प्रमुख सुवास पौडेलका अनुसार भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २ सय ९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन्।

फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र कारागार फर्किएका छन्। अन्य कारागारबाट फरार भई भीमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भीमफेदी कारागारमा रहेका प्रमुख पौडेलले बताए।

भदौ २४ गते राति १ः०० बजेतिर भीमफेदी कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २ सय ६० र (ख) ब्लकबाट १ सय ८० कैदीबन्दी फरार भएका थिए।

फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए।