सुमी फार्मास्युटिकल्सको पेन किलर बिक्रीमा रोक

HTV Khabar ४ श्रावण २०८१, शुक्रबार ०२:०४ मा प्रकाशित

काठमाडौं,  औषधि व्यवस्था विभागले नवलपरासीको गैँडाकोटस्थित सुमी फार्मास्युटिकल्सको एक औषधि बिक्रीमा रोक लगाएको छ।

उक्त कम्पनीको ओफेन नामक एसिक्लोफेनेक १०० एमजी ट्याब्लेटमा समस्या देखिएको हो। यो नेपालमा धेरै प्रयोग हुने पेनकिलर औषधिमध्ये एक हो।

उक्त औषधिको ब्याच नम्बर ‘ओ २३’ राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा  न्यून गुणस्तरको पाइएकाले बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ। उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ।
 
 खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ। उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ।