राष्ट्र बैंकको नीतिगत सुधारले पनि घरजग्गा कारोबार बढेन, सरकार भन्छ- सुधार हुँदैछ

HTV Khabar २ माघ २०८०, मङ्गलबार १०:३१ मा प्रकाशित

काठमाडौं, सरकार र राष्ट्र बैंकले नीतिगत रुपमा सहज बनाए पनि घरजग्गा कारोबारमा त्यसको कुनै असर देखिएको छैन।


घरजग्गा कारोबार उच्च हुने महिना पुसमै निराशाजनक कारोबार भएको व्यवसायी बताउँछन्। यद्यपि सरकारले भने कारोबारमा सुधार आउन थालेको दाबी गर्दै आएको छ।


भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७१ वटा जग्गाको कारोबार भएको छ। जुन गत मंसिरको तुलनामा बढेको देखिएको छ, जुन ६ महिनाकै उच्च कारोबार हो। तर, यो कारोबार दुई वर्षअघिको पुस महिनाको तुलनामा भने ३५ प्रतिशत कम हो।


२०७७ पुसमा ७६ हजार ५२३ वटा जग्गाको कारोबार भएको विभागको तथ्यांक छ। घरजग्ग्गा कारोबार बढाउन सरकारले गत वैशाखमा जग्गाको कित्ताकाट खोलेको थियो भने राष्ट्र बैंकले गत मंसिरमा घरजग्गा कर्जाको जोखिम भार घटाएको थियो। तर, यी नीतिगत पहलको असर बजारमा देखिन सकेको छैन।


पछिल्लो समय व्यवहार मिलाउन व्यवसायीले ऋण लिएका व्यक्तिलाई जग्गा नै बुझाएकाले पनि कारोबार बढेको देखिएको जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन्।


गत असोजमा भन्दा पुसमा बढी कारोबार भएको देखिए पनि राजस्वमा कमी आएको छ। असोजमा ४ अर्ब ८ करोड संकलन भएकामा पुसमा ३ अर्ब २० करोड मात्र उठेको तथ्यांक छ।

सहरी क्षेत्रका उच्च मूल्य भएका जग्गाभन्दा ग्रामीण भेकका जग्गाको कारोबार बढेकाले राजस्व नबढेको हो। यस्तै, मंसिरसम्म व्यक्तिगत आवास कर्जा ८.५ प्रतिशतले बढेको भए पनि व्यावसायिक घरजग्गाको कर्जा भने घटेको छ।