फरार तीनजना कैदीबन्दी पक्राउ

HTV Khabar ३० अशोज २०८२, शुक्रबार ०८:२७ मा प्रकाशित

काठमाडौं, फरार रहेका तीन जना प्रतिवादी र कैदीबन्दीलाई देशका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरी वृत्त थानकोटका अनुसार लागुऔषध मुद्दामा अदालतको फैसला पश्चात फरार रहेका चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरिएको छ। उनलाई विहीवार बिहान ११:२० बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, चोरी मुद्दाका अभियुक्त ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी २०८२ असोज २४ गते नख्खु कारागार, ललितपुरबाट फरार भएका थिए। उनलाई विहीबार राति ९ बजे प्रहरी प्रभाग इमाडोलको क्विक रेस्पोन्स टिम (क्वीआरटी) र सिभिल प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै, सवारी ज्यान मुद्दामा कारागारमा सजाय काटिरहेका विशाल महर्जन फरार भएकोमा उनलाई पनि नियन्त्रणमा लिइएको छ। कारागारबाट फरार भएका महर्जनलाई विहीवार दिउँसो १२:३५ बजे काठमाडौं महानगरपालिका–२६, रानीवारीस्थित दक्षिणकाली मन्दिर नजिकबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको थियो।

लैनचौर वृत्तमा राखिएका ३१ वर्षीय महर्जनलाई आवश्यक प्रक्रिया पूरा गरी केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ।