तीनकुनेमा एकै स्थानमा ४ जनाको हत्या, हत्याराले गरे आत्मसमर्पण

HTV Khabar ३० भाद्र २०८०, शनिबार ०९:५१ मा प्रकाशित
काठमाडौं, शुक्रवार साँझ काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या भएका सबैको पहिचान खुलेको छ। प्रहरीका अनुसार हत्या भएकाहरुमा दिब्य सः मिलमा सुरक्षा गार्ड ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी अम्बिका भुजेल, त्यस्तै कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन्।

मृतक सबैको शरीरमा धारिलो हतियार प्रहार भएको प्रहरीको भनाइ छ। मृतकहरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ। घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए। उनी २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जानकरी दिएको छ। लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए।

घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए। प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ। प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको बताएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए। बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नवीन त्यहाँ आउनेजाने गर्थे। हत्या भएका नवीन राई उनका साथीसमेत हुन्। घटना भएको सःमिलको सामान ओसारपसार गर्ने एक जना रिक्सा चालक बसन्त रोकाका अनुसार पक्राउ परेका व्यक्ति पहिले पनि त्यहाँ आइरहन्थे। बुवाले काम गर्दा उनी त्यहीँ बस्ने गरेका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रहरी वृत्त, नयाँ बानेश्वर पुगेर घटनाबारे जानकारी दिने राई नै हत्यामा संलग्न रहेको बताएको छ। हत्याको कारण भने स्पष्ट भइसकेको छैन। राईका बुबा अहिले धनकुटामा छन्।