काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा आजबाट चौथो रोजगार तथा वृति मेला शुरु भएको छ।
नेपाल सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको सो मेलाको पहिलो दिन विभिन्न रोजगार दाताहरुको स्टलमा आएर सयौं नगरवासीले रोजगारका लागि आवेदन दिएका छन्।
नगरपालिका भित्र संचालनमा रहेका विभिन्न व्यवसायीक संस्था तथा रोजगारदाताहरुले राखेको स्टलमा र अनलाइन मार्फत आवेदन दिएका बेरोजगार नगरवासीहरुलाई रोजगार दिने तयारी गरिएको छ भने भोलि फागुन ३ गते शनिवार पनि इच्छुक बेरोजगार नगरवासीले ९ बजेपछि नगर कार्यालय परिसरमा सञ्चालित मेलामा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको रोजगार मेलाको उदघाटन समारोहमा शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत मन्तव्य सहित मेलाको औचित्य माथि प्रकाश पारेका थिए।
विगतका मेलाहरुमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरुको स्टल मै आवेदन दिन सकिने व्यवस्था गरेको छ जसमा आज पहिलो दिननै सयौं बेरोजगार नगरवासीले आफुले चाहेको पदमा आवेदन दिएको शिक्षा महाशाखा प्रमुख सिंहले एचटिभी खबरलाई बताए।