काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका सांसदमध्ये १५७ सांसदले दाहाललाई विश्वासको मत दिएका छन्।
आज प्रतिनिधिसभा बैठकमा २६८ सांसद उपस्थित थिए। जसमध्ये ११० सांसदले विपक्षमा मत दिए भने १ सांसद तटस्थ बसे।
पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता गठबन्धनबाट सरकार विस्तार गरेका प्रधानमन्त्री दाहालले कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन्। यसअघि यही प्रतिनिधिसभा प्रधानमन्त्री दाहालले दुईपटक विश्वासको मत पाएका थिए।
यस पटक प्रधानमन्त्री दाहाललाई माओवादी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन्।