आज साउनको अन्तिम सोमवार, पशुपतिनाथसहित शिवालयमा भक्तजनको भीड

HTV Khabar २८ श्रावण २०८१, सोमबार ०७:३४ मा प्रकाशित

काठमाडौं, आज साउन महिनाको अन्तिम सोमवार काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा हिन्दू श्रद्धालुहरुको घुइँचो लागेको छ।

साउनको सोमवार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछ्न। साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो लाग्छ।

बिशेषगरी आज काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुहरुको पनि घुइँचो लागेको हो।

ज्योतिष शास्त्रअनुसार साउने सोमवारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ। साउनको सोमवार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर लगायतका चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ।