काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोक चौताराका ३३ वर्षीय आईत सिंह तामाङ छन्। उनीहरुले नक्कली बिलबूक लगायतका कागजात बनाइ गाडी नेपाल भित्र्याउने र काठमाडौंमा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।
उनीहरुको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको हो।उनीहरुले नेपाली बजारमा करिब ७५ लाख रुपैयाँ पर्ने चोरीका कार २१ लाख रुपैयाँमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई क्रेटा, ब्रेजा र इलेक्टोनिक्स ५ वटा गाडीसहित पक्राउ गरेको छ। प्रहरीले दिलबहादुरलाई काठमाडौं महानरपालिका १३ कालिमाटीबाट पक्राउ गरेको थियो।
उनको साथबाट प्रहरीले एनएमबि बैंकको सातौं तहको अधिकृतको छाप र यातायात व्यवस्था विभागको छापलगायत अन्य सरकारी छापहरू बरामद गरेको छ।
उनीहरूले भारतबाट गाडीहरू चोरी गरेर नेपाल ल्याउने र त्यसलाई नक्कली ब्लुबूक बनाएर बिक्री गर्ने गरेका थिए।