कैलाली, कथित बोक्सी काण्ड, हतौडा काण्ड लगायत विभिन्न काण्डले विगतदेखि नै चर्चामा रहेको कैलालीको घोडाघोडी नगरपालिका पछिल्लो समय यो पालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच द्वन्द्व चर्किएको छ। दुई जनाको टसलले गर्दा नगरपालिकाका सेवाग्राहीहरुसमेत प्रभावित भएका छन्। नगरको काम छाडेर दुई जनाको टसलले नगरबासीहरु हैरान छन्।
कैलालीको घोडाघोडी नगरपालिकाकाका मेयर खडकबहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यबीच द्वन्द्व चर्किदै गएको छ। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी सरुवा भएका आचार्य पुनः घोडाघोडी नगरपालिका फर्किएपछि मेयर चिढिएका हुन्। आचार्य पुनः आफ्नो नगरपालिका फर्किएपछि नेकपा एकीकृत समाजवादीबाट निर्वाचित मेयर रावत उनलाई रोक्न काठमाडौं पुगेका छन्। जनताको सेवा गर्न भन्दै निर्वाचित जनप्रतिनिधि र नेपाल सरकारको कर्मचारीको लडाईबाट नगरबासीहरु आजित भएका हुन्।
यसअघि आचार्य घोडाघोडी नगरपालिकाबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढी सरुवा भएका थिए। तर सरुवा भएर पनि उनी मुख्यमन्त्री कार्यालयमा हाजीर भएका थिएनन्। प्रशासकीय अधिकृत आचार्य भने यो नगरपालिकामा आउने आफ्नो चाहना नभएको बताउँछन्।
कैलालीका १३ मध्ये घोडाघोडी नगरपालिकाबाहेक अधिकांश पालिकाहरुले हिउँदे अधिवेशन सम्पन्न गरी सकेका छन्। तर यो नगरपालिकामा अधिवेशन हुन सकिरहेको छैन। प्रशासकीय अधिकृत र मेयरबीचको प्रतिसोधको लडाईँले जनताको कामकारबाही हुन सकेको छैन। यहि कारण जनप्रतिनिधीहरुबीच पनि फाटो आउने देखिएको छ। केही निर्वाचित जनप्रतिनिधिहरु आचार्यलाई रोक्न भन्दै लिखित रुपमै दबाब दिइरहेका छन् भने केही सरुवा गराउन भूमिका खेलिरहेका छन्।
आफू अनुकुलको प्रशासकीय अधिकृत मिलाउने मेसोमा लागेका जनप्रतिनिधिहरु भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्। कर्मचारीहरुमाथि जनप्रतिनिधिको दबाव तथा कर्मचारीको राजनीतिक प्रभावबाट हुने खिचातानीले आम सर्वसाधारणहरु मर्कामा परेका छन्।