काठमाडौं, नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित निकाल्दै घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० आइ श्रृंखलामा फर्किएको छ। नेपालले तीन देश सम्मिलित श्रृंखलामा पहिलो दुई खेल गुमाएको थियो।
तेस्रो खेलमा रोमाञ्चक जित निकाल्दै नेपालले श्रृंखलाको फाइनल खेल्ने सम्भावना कायम नै राखेको हो। अब नेपालले अन्तिम खेल शनिवार नै नेदरल्याण्ड्ससँग खेल्नेछ। यो खेलमा जित निकालेमा नेपालको फाइनल सम्भावना बलियो हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७७ रन मात्र जोड्न सफल भयो।
डेथ ओभरमा नामिबियालाई १२ रन आवश्यक थियो । तर अनुभवी बलर करण केसीले एक विकेटसँगै ८ रन मात्र दिए र नेपालले साँघुरो जित निकाल्यो। १५ औं ओभरसम्म नामिबिया हाबी थियो। तर १६ औं र १७ औं ओभरमा नेपालका दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले उत्कृष्ट बलिङ गर्दै संयुक्त रूपमा तीन विकेट लिए। त्यससँगै नेपालले खेलमा पकड जमाएको थियो तर त्यस पछिका दुई ओभरमा यी दुवै बलर महँगा भए र नामिबिया फेरि खेलमा फर्कियो।
यद्यपि, डेथ ओभरमा करणले आफ्नो अनुभव प्रदर्शन गरेपछि नेपालले जित निकाल्यो। नामिबियाका कप्तान जेजे स्मिथले ५० रनको अर्धशतकीय इनिङ बनाए। उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। आक्रामक ब्याटिङ गरेका स्मिथ १६ औं ओभरमा आउट भए। उनलाई दीपेन्द्रसिंह ऐरीले अनिल साहलाई क्याच गराए। लगत्तै बलमा दीपेन्द्रले जान निकोल लोफ्टी इटनलाई शुन्यमा नै पभेलियन फर्काए।
जान फ्रिलिन्कले ३७ रन जोडे। २९ बलमा उनले दुई छक्का र एक चौका प्रहार गरे। १७ औं ओभरमा उनी अविनाशद्वारा क्लिन बोल्ड भएका हुन्। जेपी कोट्जेले २५ रन जोड्दा जान ग्रिन २३ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्। नेपालको बलिङमा सोमपाल कामी, दीपेन्द्रसिंह र करणले समान दुई/दुई विकेट लिए पनि महँगा सावित भए। अविनाशको नाममा एक विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको शुरुवात पनि खराब रह्यो। तर युवा ब्याटर कुशल मल्ल, गुल्सन झा र अनुभवी आरिफ सेखको साथ पायो र नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८० रनको योगफल बनायो। नियमित ओपनर कुशल भुर्तेललाई आराम दिँदै आसिफ सेख र अनिल साहलाई ओपनिङमा पठाउने निर्णय पनि सफल भएन। दोस्रो ओभरमा नै आसिफलाई गुमायो।
त्यसपछि कप्तान रोहित पनि १० रनमै पभेलियन फर्किए। ओपनर अनिल पनि २३ रनमा आउट भए। त्यससँगै ६.६ ओभरमा ५८ रन जोड्दा तीन ब्याटर पभेलियन फर्किए। तर त्यस पछिका ब्याटरबाट साथ पाउँदा नेपालले राम्रो योगफल बनायो। कुशल मल्ल ५५ रनमा नटआउट रहँदा आरिफ शेखले ३१ रन, गुल्सन झाले २६ रन र दीपेन्द्रसिंहले १६ रन बनाए। कुशलले ३७ बलमा चार छक्का र एक चौका प्रहार गरे।
कुशल र आरिफबीच पाँचौं विकेटका लागि ८५ रनको साझेदारी भयो। यो साझेदारीले नै नेपालको इनिङ अगाडि बढाउन मद्दत मिल्यो। नामिबियाको बलिङमा बेन सिकोन्गोले तीन विकेट लिँदा ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलमेन, लोफ्टी इटन र बेर्नार्ड स्कल्ट्जले समान एक विकेट निकाले। यसअघि नेपालले नामिबियासँग २० र नेदरल्याण्ड्ससँग दुई रनको पराजय व्यहोरेको थियो। नामिबिया नेदरल्याण्ड्सँग ५९ रनले पराजित भएको थियो।