काठमाडौं, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्काको निवासमा भेटिएको भनिएको जलेका नोटबारे अनुसन्धान थालेको छ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते देउवा र खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा नगद जलेको दाबी गर्दै विभिन्न भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
आईतवार विभागको टोलीले दुवै घरमा पुगेर जलेका नोटका टुक्रा र खरानी संकलन गरेको हो। विभागका अधिकारीका अनुसार संकलित नमूनाको फरेन्सिक परीक्षण गरेर घटनाको सत्यता पत्ता लगाइने छ।
नेपाली तथा विदेशी मुद्राको वास्तविकता प्रमाणित भएमा उनीहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानिने सम्भावना छ।
तर, देउवाको सचिवालयले भने निवासमा जलेको नोट भेटिएको भन्ने प्रचारलाई निराधार र मिथ्या बताएको छ। दुवै घर जलेको तेस्रो दिनदेखि मात्रै प्रहरीले बाह्य व्यक्तिको प्रवेशमा रोक लगाएको थियो। घटना भएको करिब दुई सातापछि मात्र विभागले अनुसन्धान अघि बढाएको हो।