जेनजी आन्दोलन टिओबीले भड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धान

HTV Khabar २९ अशोज २०८२, बिहीबार ०३:४८ मा प्रकाशित

काठमाडौं,  नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको देखिएको छ।

टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी भएका तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो। प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताए।

टिओबी ज्याकेट लगाएकाहरू रेडिओ सेटसहित आन्दोलनमा सहभागी भएका थिए। सोही रेडियो सेटमार्फत उनीहरूले बाइकमा सहभागी युवालाई निर्देशन दिन्थे। आन्दोलनमा रेडियो सेटसहित सहभागी हुनु अनौठो विषय रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए।

प्रहरीले जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ। नागरिकस्तरबाट प्राप्त भएका भिडियो र फोटोलाई पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ।

यसक्रममा प्रहरीले नागरिकस्तरबाट ३६ हजारभन्दा धेरै फोटो र भिडियो संकलन गरेको छ। टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी हुनेहरूको मुभमेन्ट र गतिविधि अध्ययन गर्न प्रहरीले सोही भिडियो र फोटोलाई आधार बनाएको हो।