आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा रोपिदै, चतुर्मास शुरु

HTV Khabar २२ असार २०८२, आइतबार ०७:१२ मा प्रकाशित

काठमाडौं,  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रमा उल्लेख छ। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ।

एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।