बालिकाको बलात्कार गरि हत्या गर्ने छिमेकी अधिकारी दुई महिनपछि पक्राउ

HTV Khabar २१ मंगशिर २०८२, आइतबार ०५:३५ मा प्रकाशित

काठमाडौं,  मोरङको लेटाङ नगरपालिका-२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा छिमेकी पक्राउ परेका छन्। हत्यामा संलग्न रहेको आरोपमा ५९ वर्षीय पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। 

असोज २१ गते दिउँसो स्कुलमा खेल्न जाने भन्दै निस्किएकी कक्षा ५ मा अध्ययनरत अंशु १८ दिनसम्म बेपत्ता थिइन्। कात्तिक ७ गते घरबाट साढे चार किलोमिटर टाढाको लेटाङ जंगलमा टाउको र शरीर छुट्टिएको अवस्थामा उनी फेला परेकी थिइन्।

क्षतविक्षत अवस्थामा शव फेला परेको ठीक ९ दिनपछि अधिकारी एक्कासी गाउँ छोडेर भारत पलायन भएका थिए। उनी अचानक फरार भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीको शंका उनीमाथि नै केन्द्रित भएको थियो।

भारत भागेपछि प्रहरीले उनीमाथि सूक्ष्म निगरानी बढाएको थियो। बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि भारतमा लुकेर बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोलीले छिमेकी पदमबहादुरलाई पक्राउ गरेर ल्याएको हो।

मोरङ प्रहरीका अनुसार पदमबहादुरले अंशुलाई पैसा दिन्छु घाँस काट्न सघाइदेउ भन्दै जंगल लगेर  शारीरिक सम्बन्धका लागि प्रस्ताव गर्दा नमानेपछि जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेको स्वीकार गरेका छन्।

पक्राउ परेका अधिकारीमाथि बालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।