काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको छ।
उनका छोरा सन्दीप रायमाझीलाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। उच्च अदालत पाटनले थुनछेक विरुद्धको पुनरावेदनमाथि सुनुवाइ गर्दै रायमाझीलाई छाड्न अस्वीकार गरेको हो।
उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये टोपबहादुरसँगै टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङ्टावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ।
यस्तै सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश भएको छ।
तर, सन्दीपसँगै टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश गरेको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको छ।
यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले दिएको थुनछेकको आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालतमा रिट हालेका थिए। तिनै रिटमाथिको सुनुवाइ हिजो (विहिवार) सकिएसँगै उच्च अदालतले आज (शुक्रवार) आदेश दिएको हो।