काठमाडौं, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पौष अन्तिम साता पदबाट राजीनामा दिने तयारी गरेका छन्।आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ। सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ। ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेद्वार बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ।
बालेनले निर्वाचनमा भाग लिनका लागि मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ। त्यसैका लागि मेयर बालेनले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी भइरहेको बालेन निकट स्रोतले बतायो।
“महानगरमा केही काम बाँकी छ। त्यो सबै काम सकाएर दुई साता १५ दिनभित्रै मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ,” बालेन निकट स्रोतले भन्यो। बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरको कार्यवाहक नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्ने छिन्।