खोलेखर्क देविस्थान तमु समाजको ल्होसार कार्यक्रम सम्पन्न

सबिन पन्त 'पृथक' ५ माघ २०८०, शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाडौं, खोलेखर्क देविस्थान तमु समाज नुवाकोटको आयोजनामा तमु(गुरुङ) समुदायको महान पर्व तमु ल्होसार अर्थात मुप्री ल्हो (गरुड वर्ग) को पावन अवसरमा "तमु मौलिक खुल्ला एकल नृत्य प्रतियोगिता तथा बृहत् साङ्गितीक कार्यक्रम" सम्पन्न भएको छ।


बिधिवत रुपमा १०८ बती बालेर उद्घाटन गरिएको कार्यक्रममा खोलेखर्क देविस्थान तमु समाजको अध्यक्ष तथा धर्म गुरु सुवर्ण गुरुङ (लामा माइला) को सभापतित्वमा आयोजित कार्यक्रममा तमु ह्युल छोज धीं (गुरुङ राष्ट्रिय परिषद) बागमती प्रदेशको अध्यक्ष झमकराज गुरुङको प्रमुख आतिथ्य रहेको थियो।


विशिष्ट अतिथीमा तमु ह्युल छोज धी नुवाकोटका अध्यक्ष इन्द्र बहादुर गुरुङ, शिवपुरी १ का वडाध्यक्ष सुकुराम तामाङ, नुवाकोट तमु समाजको उपाध्यक्ष रोजिना घले लगायतका पदाधिकारी, खोलेखर्क आधारभुत विद्यालयका प्र.अ. सुरेन्द्र लामा, हैबुङ दहपोखरी तमु समाज सिन्धुपाल्चोकका अध्यक्ष राजाराम गुरुङ लगायतको उपस्थिति रहेको थियो।


हरेक बर्ष विशेष साङ्गितिक प्रस्तुती सहित कार्यक्रम गर्दै आइरहेको तमु समाजले यस बर्ष नया पुस्ता माझ मौलिक संस्कृति पहिचान सहित पहिलो पटक "तमु मौलिक खुल्ला एकल नृत्य प्रतियोगिता" आयोजना गरेको तमु समाजका सचिव एवम कार्यक्रम सञ्चालक देवराज गुरुङले जानकारी दिएका छन्।


बौद्ध परम्परा अनुसार बिहान ल्हो(बर्ग) फालेर सुरुवात गरिएको कार्यक्रममा दिवा शत्रमा भने स्योर्कै (बनभोज) कार्यक्रम र विभिन्न खेलकुदको कर्यक्रम हरु (म्युजिकल चियर, हाडी फुटाइ) खेल आयोजना गरिएको थियो। 


म्युजिकल चियर तर्फ प्रमिशा गुरुङ प्रथम सफल भईन्  भने, सुमन गुरुङ ले हाडी फुटाउन सफल भइ आकर्षक पुरस्कार समेत हात पारेको खेल संयोजक रामहरी गुरुङले बताए।


बेलुकी ५ बजे बाट सुरु गरिएको औपचारिक कार्यक्रममा नृत्य प्रतियोगिता तथा चर्चित गायिका पवित्र गुरुङको बृहत् साङ्गितीक प्रस्तुतीहरुले दर्शकहरुलाई नचाएको सांस्कृति संयोजक नारायण गुरुङले बताए।


नृत्य प्रतियोगितामा निर्णायकको रुपमा केशव कोइराला, चुडामणी फुयाल र सुनिल गिरी रहेका थिए। प्रतियोगितामा इच्छा गुरुङ प्रथम स्थान, तारा थापा(गुरुङ) दोश्रो स्थान र प्रमिशा गुरुङले तेश्रो स्थान हासिल गरेका थिए। बिजेताहरुलाई प्रमुख अतिथी, अन्य अतिथिहरुले नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी झमकराज गुरुङले आफ्नो संस्कृतिसहितको कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताए। करिव राती १२ बजे सम्म सञ्चालन भएको कार्यक्रमको सभा बिसर्जन गर्दै सभापती एवं धर्मगुरु सुवर्ण गुरुङले कार्यक्रम सफल बनाउनका निमित्त स्वदेश तथा बिदेशबाट आर्थिक, भौतिक सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिएका थिए।