काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।
नेपाली काङ्ग्रेस काठमान्डौ–७ का क्षेत्रीय सभापतीसमेत रहेका वडाध्यक्ष रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए। उनको फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
काङ्ग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई उच्च ज्वरो तथा निमोनिया भएकाले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो।