नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश हो : चन्द्र ढकाल

HTV Khabar १५ भाद्र २०८१, शनिबार ०६:५८ मा प्रकाशित

काठमाडौं,  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन्।

उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए। उनले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने बताए।

उनले अहिले नेपाल बाहिर रहेका नेपालीहरुले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताए। उनले आम नागरिकहरुलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको बताए।

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरु नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे।