बीपी र मदनको नाममा बजेट नदिएपछि एमाले-कांग्रेसले बैठक छोडेको बालेनको आरोप

HTV Khabar १५ असार २०८१, शुक्रबार ०२:२८ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको आरोप लगाएका छन्।

मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेस र एमालेले चार शहीदको नाममा कार्यक्रम गर्न नमानेको आरोप लगाएका हुन्। आफूले स्वतन्त्र सेनानीहरू, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाममा करोडौंको कार्यक्रम गरौं भने पनि कांग्रेस र एमालेले नमानेको मेयर बालेनले बताए।

मेयर बालेनले लेखेका छन्, ‘एमाले कांग्रेसले वीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नु भयो। मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौं भनें।

सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा कांग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला। त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।’

काठमाडौं महानगरपालिकामा बालेन स्वतन्त्रबाट मेयर जिते पनि उपमेयरसहित वडाध्यक्षहरू कांग्रेसबाट एमालेबाट जितेका छन्।

यसैले पटकपटक नगर सभाको बैठक प्रभावित हुँदै आएको छ। कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको मेयर बालेनले बताए।