काठमाडौं, लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ।
डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४÷२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाईस चियरपर्सन लायन मिलन थापा आगामी लायन वर्षकी लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी छन्। यसको औपचारिक घोषणा भने ७ जुनमा प्रज्ञा प्रतिष्ठानमा हुने मल्टिपल कन्भेन्सनमा हुनेछ।
मल्टिपल काउन्सिल चियरपर्सन पदमा मनोनयन दर्ता गर्ने समयसीमा भित्र लायन थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन्। लायन वर्ष २०२४/२५ मा उनले आफ्नो कुशल नेतृत्वशैली देखाउँदै डिष्ट्रिक्ट ३२५ जे लाई चर्चामा ल्याएकी छन्।
उनको यो सफलतालाई केवल पद प्राप्तिको रुपमा मात्र नभएर परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रुपमा हेरिएको छ। लायन थापाले लायन्स क्लब मार्फत् समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष योगदान दिएकी छन्।
पहिलोपटक मल्टिपल काउन्सिलले महिला नेतृत्व पाएकोमा नेपालका सबै लायन्स लिडरहरुले खुशी हुँदै उनलाई शुभकामना दिएका छन्। मल्टिपल काउन्सिलको सेक्रेटरीमा डिष्ट्रिक्ट ३२५ सि का इलेक्ट गभर्नर लायन बबरजंग थापा र ट्रेजररमा डिष्ट्रिक्ट आर का इलेक्ट गभर्नर लायन नवराज सापकोटा निर्विरोध भएका छन्।
भाईस काउन्सिल चियरपर्सनमा भने ३ जनाको उम्मेदवारी परेको छ। उक्त पदमा डिष्ट्रिक्ट एच का इलेक्ट गभर्नर लायन रविन्द्र बहादुर प्रधान, डिष्ट्रिक्ट जि इलेक्ट गभर्नर लायन विधान जोशी र डिष्ट्रिक्ट एफ का इलेक्ट गभर्नर लायन केशर बहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन्।
आफू निर्विरोध भएपछि उनले आफ्नो जीतले नेपाली लायनिज्ममा नयाँ इतिहास कोरेको र मनदेखि समाजसेवामा सक्रिय सबै लायन्स लिडरहरु विशेषगरी महिलाहरुलाई थप प्रोत्साहन मिलेको बताइन्। उनले भनिन् — “यो जीत सम्मानसँगै मलाई लायनिज्ममा प्राप्त ठूलो जिम्मेवारी पनि हो।
अब यो नेतृत्वलाई रुपान्तरण र समावेशीताको उदाहरण बनाउनेछु।” निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सबै अग्रज लायन्स लिडर र १५ वटै डिष्ट्रिक्टका गभर्नरहरुलाई उनले धन्यवाद दिँदै उनले आफ्नो पदीय जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन्।