काठमाडौं, नेपालका रोहित श्रेष्ठले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको एकेडेमीमा एक साता फुटबल सिक्ने भएका छन्। एक साताको अभ्यासका लागि इंग्ल्यान्ड जाने उनलाई (मंगलबार) अखिल नेपाल फुटबल संघले बिदाइ गरेको हो।
युनाइटेड बी प्ले कार्यक्रमको विजेता बन्दै रोहित त्यहाँ जान लागेका हुन्। यो कार्यक्रम म्यानचेस्टर युनाइटेडद्वारा समर्थित ग्रासरुट फुटबल पहल हो। एपोलो टायर्सको लगानी रहेको कार्यक्रममा एन्फाले प्राविधिक सहयोग गरेको थियो।
नेपाली राष्ट्रिय यू-१६ खेलाडी श्रेष्ठले म्यानचेस्टर युनाइटेडमा एक साता बिताउनेछन् भने क्लबको खेलको अनुभव लिनेछन्।
त्यसैगरी म्यानचेस्टर युनाइटेड फुटबल स्कुलका प्रशिक्षकसँग प्रशिक्षण सत्र र म्यानचेस्टर युनाइटेडका खेलाडीसँग अन्तर्क्रियाजस्ता रोमाञ्चक गतिविधिमा श्रेष्ठ सहभागी हुने एन्फाले जानकारी दिएको छ।