काठमाडौं, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई एनसेल नम्बरबाट पटकपटक फोन गरी ज्यान मार्ने धम्की दिएर २५ लाख माग गर्ने एक जनालाई चितवन प्रहरीले मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
हेटौँडा उपमहानगरपालिका वडा नं. २ घर भई भरतपुर–९ मा बस्ने ५५ वर्षीय थापालाई धाक धम्की दिई रकम माग गरेको आरोपमा प्रहरीले आज सार्वजनिक गरेको हो। उनले एनसेलका अपरिचत नम्बरहरुबाट बारम्बार फोन गरी हिन्दी भाषाको प्रयोग गरी सुवेदीलाई धम्क्याएका थिए। थापालाई प्रहरीले रकम माग गरिरहेकै बखत भरतपुरस्थित मालपोतचोकबाट पक्राउ गरेको हो।
थापा यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीेले पुष्टि गरेको छ। उनीविरुद्ध २०६६ जेठ २७ मा चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो। त्यसैगरी सोही साल असार ३ गते अवैध हतियार देखाई लुटपाट गरेको अभियोगमा डाँका मुद्दा समेत दर्ता भएको थियो। त्यसैगरी प्रहरी वृत सातदोबाटो, ललितपुरमा थापाविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो।
२०७५ मंसिर १३ गते जिप्रका चितवनमा उनीविरुद्ध डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको पाइएको छ। उनी ९ वर्ष कैद तोकिएकोमा २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय भरतपुरबाट आम माफी पाई छुटेका थिए।